प्रदेशीको ब्यथा


आज भाईटिका मेरो आँसु गिराएरै आयो ।
छिया-छिया पारी मुटु चिराएरै आयो ।।

टीका अनि जमरा खाली भयो दिदीको,
मलाई भने पीरको भुमरीमा छिराएरै आयो ।

साथिहरु खुसी घरमा, म दुखी प्रदेशमा,
म जस्तै अरु प्रदेशीलाई पनि रुवाएर आयो ।

ओझेलमा पर्यो दिदी तिम्रो हातको टीका,
कस्तो भाग्यको खेल चर्कोमुल्य तिराएरै आयो ।

कोहि रुने वारितिर कोहि रुन्छन पारि,
यसपाली पनि तिहार दुख भिराएरै आयो ।

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'