प्रेमको दियो बाली छोडेर गयौं


प्रेमको दियो बाली छाडेर गयौ किन ?
फूलझैं फुन्ल ला’को माया तोडेर गयौ किन ?

चट्टान जस्तै थियो कडा र बलियो माया हाम्रो,
आज मुटुको धड्कनले फोडेर गयौ किन ?

जीवनको हरेक पाइलामा साथ दिन्छु भन्थ्यौ,
बाचा कसम पुरा नगरी माडेर गयौ किन ?

हृदयको कुनामा राख्छु भन्थ्यौ कहिले त,
घृणाको काँडाले आज घोचेर गयौ किन ?

मेरै हातको सिउँदो र चुरा लगाउँछु भन्थ्यौ,
आजफेरि अर्कैको घुम्टो ओढेर गयौ किन ?

प्रकाशित: क्रान्तिकारी हातहरु संयुक्त गजल संग्रह - २०६७ पौष
- मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'