म मुग्लान पसेको दिन सम्झिरहेछु


पल्टाएर उत्तरपुस्तिका झैँ
पटकौपटक
जीवनका पानाहरु
पल्टाई हेरिरहेछु
असारमा पानी नपाएर
चिराचिरा परेका खेत झैँ
कहिल्यै नभरिने
ठूलो घाउँमा
परिणत हुन लागेका
चाहना, ईच्छा
अनि
आकाङ्क्षाहरुलाई
परिपुर्ति गर्नका निम्ति
माटो, गाउँघर
अनि
जन्मभुमि छोडी
मुटुमा ढुङ्गा राखी
आत्मालाई कठोर बनाई
परिवारको माया र स्नेहलाई
धड्कनमा राखेर
हजारौं, लाखौं
सपनाहरु सजाएर
पैसाको रूखबाट पैसा टिप्न
म मुग्लिएको दिन
सम्झिरहेछु ।

मुटुको धड्कन बनेर धड्किरहने
म हाँस्दा
मुस्कुराउने
म रुदाँ
आँसु पुछिदिने
मलाई चोट लाग्दा
आफैले पीडा खप्ने
सधैं
मेरो खुसीलाई
आफ्नै खुसी मान्ने
मेरो जीवन संगीनिलाई
एक्लै छोडेर
पैसाको रूखबाट पैसा टिप्न
म मुग्लिएको दिन
सम्झिरहेछु ।

नाङ्गो भएका आशाहरुलाई
वस्त्र ओढाउन
उजादिएको जङ्गल जस्तै
मेरो सानो झुप्रोमा
हरियाली र सुन्दर
फुलहरु फुलाउने आशा बोकेर
पैसाको रूखबाट पैसा टिप्न
म मुग्लिएको दिन
सम्झिरहेछु

दु:ख अनि सुखलाई
जिन्दगीको पाटो ठान्दै
पापी पेटको लागि
केही रुपैयाँ, पैसाको
जोहो गर्न,
पसिनालाई रगतमा
परिवर्तन गर्दै,
हातमा पानीका फोकाहरु
फुलाउँदै,
खुट्टाका कुर्कुचाहरुलाई
चिराचिरा पार्दै,
दु:खलाई सुखमा
परिवर्तन गर्न,
सजाएका ती
मीठा आशा
अनि
देखेका ती
सपनाहरुलाई,
हकिकतमा रुपान्तरण गर्न
पैसाको रूखबाट पैसा टिप्न
म मुग्लिएको दिन
सम्झिरहेछु ।

मुग्लान पसेको
पनि
झन्डै दुई दशक पार हुन लागेछ
थाहै भएन
अब थाकिसके
कोलाहलको शहरमा
उराथ लाग्दो
मरुभूमि रेगिस्टानहरुमा
दिनहुँ रक्ताम्य खोलो
बग्ने देशमा ।

मर्मस्पर्शी यात्री डोरबहादुर विष्ट 'मुस्कान'